Logo

२३ मंसिर,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन्।

२०४८ सालदेखि अहिलेसम्म डडेलधुराबाट प्रतिनिधि सभा निर्वाचन लड्दै सात पटक निर्वाचित भएका देउवा यसपटक अन्तिम पटक निर्वाचनमा भाग लिन लागेका हुन्। कांग्रेसले मंसिर १५ गते मातहतका पार्टी कार्यालयलाई परिपत्र गर्दै मंसिर मसान्तभित्र उम्मेदवारका नाम सिफारिस गर्न निर्देशन दिएको थियो।

नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले पार्टी नेता, कार्यकर्ता र स्थानीय जनताको चाहना देउवाले अन्तिम पटक निर्वाचन लडून् भन्ने रहेको बताएका छन्। “डडेलधुराका पार्टीका साथीहरू र पब्लिकको आकाङ्क्षा सभापतिज्यू एक पटक निर्वाचन लडिदेओस् भन्ने छ, र उहाँ सकारात्मक हुनुहुन्छ,” साउदले भने।

उम्मेदवार सिफारिसका लागि मंसिर २४ गते पार्टीको जिल्ला कार्यसमितिको बैठक बस्नेछ र सभापति देउवाको नाम सिफारिस गर्ने तयारी भइरहेको साउदले जानकारी दिए।

देउवाले जिल्लावासी र पार्टीका नेता कार्यकर्ताको मागअनुसार अन्तिम पटक निर्वाचन लड्ने तयारी गरिरहेको बताएका छन्। पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले मंगलबार भेट्दा देउवाले अन्तिम पटक लड्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

देउवा डडेलधुराबाट २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ का निर्वाचनमा निर्वाचित भएका छन्। २०४६ सालको जनआन्दोलनपछि अहिलेसम्म भएका सबै निर्वाचन लड्ने र अपराजित रहने एकमात्र नेता देउवा यसपटक आठौँ पटक प्रतिस्पर्धा गर्न लागेका छन्।

शेरबहादुर देउवा २०४८ सालमा गृहमन्त्री भएका र पाँच पटक प्रधानमन्त्री पनि बनिसकेका छन्।


सम्बन्धित समाचार