Logo

२३ मंसिर,काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीको कारण पनि ठेक्का रुग्ण हुने गरेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ संवाद कार्यक्रममा मन्त्री घिसिङले यस्तो बताएका हुन्।

मन्त्री घिसिङले भने, “ठेक्का रुग्ण हुनुको मुख्य कारण निर्माण व्यवसायी भए पनि कर्मचारीका कारण रुग्ण भएका ठेक्कामा कुनै कारवाही अघि बढाइएको छैन। त्यसमा छानविन गरेर सम्बन्धित कर्मचारीलाई कारवाही गर्नुपर्छ।”

उनले निर्माण व्यवसायीको कारण करिब २५० ठेक्का रुग्ण भएको तथ्य पनि सार्वजनिक गरे। उनले भने, “निर्माण व्यवसायी बिना देशको विकास सम्भव छैन। राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय, ठूला परियोजना निर्माण व्यवसायीको क्षमता बिना सम्भव छैन।” मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनको सट्टा निर्माण व्यवसायी सम्मेलनको आयोजना गरेर क्षमताको अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

साथै, मन्त्री घिसिङले समयमा निर्णय नगर्ने प्रवृत्तिले पनि ठेक्का रुग्ण हुने गरेको बताए। “सही समयमा निर्णय गर्न नसक्दा ठेक्का रुग्ण भएका छन्। परियोजना प्रमुखहरूले समयमा निर्णय गर्न सक्नुपर्छ,” उनले भने।

यसै क्रममा पूर्वाधार विज्ञ तथा नेपाल सरकारका पूर्वसचिव अर्जुनजंग थापाले रुग्ण ठेक्का अहिले सहज अवस्थामा आएको बताए। उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख भए अनुसार, २०७५ मंसिरसम्म ११८ अर्ब रुपैयाँ बराबर १८४८ ठेक्का रुग्ण भएका थिए। तीमध्ये १०३२ ठेक्काको म्याद सकिएको थियो भने २३ अर्ब ६० करोड पेश्की उठ्न बाँकी थियो। साथै, ५ अर्ब ९० करोड कार्य सम्पादन जमानत जोखिममा थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययनपछि ३०–३५ वटा सुझाव दिएका थिए, जस्तै: जनशक्ति थप्ने, कर्मचारी क्षमतावृद्धि गर्ने, ठेक्का सहजीकरण गर्ने, अनुगमन गर्ने आदि। थापाका अनुसार, ती सुझाव पालनाले ठेक्का संख्या १८ सयभन्दा ४ सयमा सीमित भएको छ। “भयावह स्थितिबाट धेरै सहज अवस्थामा आएको छ, तर यसलाई जिरोमा पुर्याउनु आवश्यक छ,” उनले जोड दिए।


सम्बन्धित समाचार