२३ मंसिर,काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो नियन्त्रणमा रहेको भूमि रूसलाई हस्तान्तरण नगर्ने लामो समयको अडानमा पछि नहट्ने स्पष्ट घोषणा गरेका छन्।
जेलेन्स्कीले यो घोषणा सोमबार लन्डनमा फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रों, बेलायती प्रधानमन्त्री कियर स्टार्मर र जर्मनीका चान्सलर फ्रेडरिच मर्जसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे छलफल गरेपछि गरेका हुन्। उनले भने, “हाम्रो कानुन, अन्तर्राष्ट्रिय कानुन र नैतिक कानुनअनुसार पनि हामीसँग केही पनि सुम्पने अधिकार छैन। हामी लडिरहेको कारण यही हो।”
अमेरिकाले युक्रेनी भूभाग हस्तान्तरण गरेर युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजना अघि सारेको छ। तर जेलेन्स्कीले अमेरिकाका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग भएका वार्तापछि पनि आफ्नो अडान कायम राखेका हुन्।
स्रोतअनुसार, ट्रम्पको २८ बुँदे शान्ति योजनामा युक्रेनले आफ्नो भूभाग रूसलाई दिनुपर्ने, आफ्ना सेनाको आकार सीमित गर्ने र पश्चिमी शान्ति सेनाको भूमिकाबारे प्रतिबन्ध लगाउने बुँदाहरू समावेश थिए। तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती सर्तहरू ठाडै अस्वीकार गरेका छन्।
युक्रेनी भूभागमा पुटिनले लामा समयदेखि आक्रमण गरिरहेका छन्, तर अझै पूर्ण नियन्त्रण हासिल गर्न सकेका छैनन्। विशेष गरी डोनबास क्षेत्रको अधिकांश भागमा युक्रेनी नियन्त्रण कायम छ। जेलेन्स्कीले त्यस्ता संवेदनशील क्षेत्र रूसलाई हस्तान्तरण नगर्ने अडानमा रहेकाले अमेरिका र युरोपले पनि यस विषयमा विभिन्न छलफलहरू गरिरहेका छन्।
जेलेन्स्कीको स्पष्ट अडानले संकेत गर्दछ कि युक्रेन आफ्नो सार्वभौमिकता र भूभाग सुरक्षा कायम राख्न प्रतिबद्ध छ र कुनै पनि प्रकारको दबाबमा आफ्नो भूमि हस्तान्तरण गर्ने छैन।















