२३ मंसिर,काठमाडौं । भारत सरकारको सहयोगमा बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्मको नयाँ रेलवे मार्गको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको छ। भारतीय रेलवेका अधिकारीहरुले जनाए अनुसार, क्रस–बोर्डर रक्सौल–काठमाण्डु रेल लिंकको लामो समयदेखि योजनामा रहेको डीपीआर तयारीको अन्तिम चरणमा पुगेको छ र आगामी जनवरी २०२६ मा हस्तान्तरण गरिने छ।
अधिकारीहरुले भनेका छन्, नयाँ रेलमार्ग सञ्चालनमा आएपछि रक्सौलदेखि काठमाण्डुको दूरी ३ घण्टामा पूरा गर्न सकिनेछ। हाल सडकमार्गबाट यही दूरी तय गर्न ५–६ घण्टा लाग्छ। परियोजनाको कुल बजेट करिब २५ हजार करोड भारतीय रुपैयाँ रहेको छ।
निर्माण हुने रेलमार्गमा कुल १३ रेलवे स्टेशन, ४२ किलोमिटर सुरुङ मार्ग, र १२४ वटा पुल निर्माण हुने कोँकन रेलवेका अधिकारीहरुले जनाएका छन्। प्रस्तावित ब्रॉडगेज रेललाइनमा रेलको गति प्रति घण्टा १२० किलोमिटर रहनेछ।
भविष्यमा यस रेलमार्गले भारतको राजधानी नयाँ दिल्ली र नेपाल काठमाण्डुलाई जोड्ने ‘दिल्ली–नेपाल ट्रेन सर्भिस’को रुपमा क्षेत्रीय रेल नेटवर्कमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।
अधिकारीहरुले रक्सौलदेखि जीतपुर, निजगढ, शिखरपुर, सिस्नेरी, र सतीखेल हुँदै रेल चोभारसम्म पुग्ने योजना रहेको जानकारी दिएका छन्। यसले यात्रुवाहक मात्र नभई मालवाहक रेल सञ्चालनमा ल्याउँदा भारत र तेस्रो मुलुकबाट नेपाल आउने मालसामानको ढुवानी लागत पनि कम हुने अपेक्षा गरिएको छ।
हाल नेपालमा बिहारको जयनगरदेखि महोत्तरी जिल्लाको भँगहा सम्मको ४५ किलोमिटर रेलमार्ग मात्र सञ्चालनमा छ, जुन यात्रुवाहक मात्रका लागि सीमित छ। रक्सौल–काठमाण्डु नयाँ रेलमार्गले दुबै यात्रुवाहक र मालवाहक सेवा सञ्चालनमा आएर आर्थिक रूपमा लाभदायी हुने विश्लेषण गरिएको छ।















