Logo

२३ मंसिर,काठमाडौं । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता भएको छ। करिब तीन महिनाको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो, जसको आधारमा सरकारी वकिलले उनलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्।

उनविरुद्ध लागुऔषधको कसुर र लिखत कीर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरीका अनुसार, उनका कोठाबाट गाँजा बरामद भएको छ भने उनीबाट प्राप्त नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र कीर्ते भेटिएको छ। अनुसन्धानमा देखिएको छ कि तेन्जिनले गलत विवरण पेश गरी नागरिकता प्राप्त गरेका र त्यसै आधारमा राहदानी तथा राष्ट्रिय परिचयपत्र बनाएको प्रहरीको भनाइ छ।

तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए, तर उक्त व्यक्तिले उनलाई नचिनेको बताएपछि नागरिकता गलत विवरण प्रस्तुत गरी लिएको पुष्टि भएको छ।

उनविरुद्धको मुद्दा न्यायाधीश तेजबहादुर खड्को इजलासमा परेको छ। बयान सकिएपछि थुनकेछ बहस हुनेछ र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख/धरौटीमा रिहा गर्ने आदेश आउनेछ।

यसअघि उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा समेत चलाइएको थियो। त्यसबेला उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५ सय धरौटी तोकिएको थियो। तर लागुऔषध र कीर्ते अनुसन्धान जारी रहेकाले उनलाई हिरासतमा राखिएको थियो।

तीन महिना लामो अनुसन्धानमा यो समूहको साइनो फ्रि तिब्बतसँग कुनै सम्बन्ध नरहेको प्रहरीले पुष्टि गरेको छ। जेनजी आन्दोलनका बेला टीओबी समूहको सक्रियतासँग चीनले पनि नेपाल सरकारसँग जानकारी मागेको थियो।

स्रोतका अनुसार, यो समूहका अन्य सदस्यहरू तिब्बती मूलका नभएका र टीओबी लेखेको टिसर्ट लगाउने व्यक्ति केवल तेन्जिन दावा मात्र भएको प्रहरीले बताएको छ। यस समूहका अन्य सदस्यहरूले टीओबीलाई “द ओरिजिनल ब्रदर्स” को रूपमा लिने गरेको पनि प्रष्ट भएको छ।


सम्बन्धित समाचार