Logo

२३ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले विभिन्न खाद्य उद्योगमा निरीक्षण गरेको छ। टोलीले पानीटंकी–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, श्रीपुर–११ रानीघाटस्थित शिला बेकरी उद्योग, र लक्की पाउरोटी उद्योगको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा तीनै उद्योगमा गम्भीर सरसफाइ समस्या, मूल्य सूची नटाँगिएको, उद्योग दर्ता तथा व्यवसाय प्रमाणपत्र अभाव, र म्याद गुज्रिएका खाद्य सामग्रीहरू भेटिएका छन्। उपभोक्ता हित संरक्षण मंच नेपालका केन्द्रीय सदस्य अजित कुमार भुजेलका अनुसार जफत गरिएका वस्तुहरूमा पाउरोटी, पप, डोनट, बम पाउरोटी, साना केक तथा बर्फी समावेश थिए, जसलाई स्थलमै नष्ट गरिएको छ।

अनुगमन टोलीले दर्ता प्रमाणपत्र नलिई व्यवसाय सञ्चालन गर्ने र केही उद्योगमा दर्ता नवीकरण नभएको पनि पत्ता लगाएको छ। महानगरपालिकाले ती व्यवसायीहरूलाई ७ दिनभित्र कार्यालयमा उपस्थित भई कागजात मिलाउन निर्देशन दिएको छ।

अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा पनि निरन्तर बजार निगरानी जारी रहने बताएको छ। टोलीमा हरिपन्त होटेल तथा पर्यटन व्यवसायी अध्यक्ष, नेहा मिश्रा, आजाद अंसारी र चेन्द्र थापा पनि सहभागी थिए।

 


सम्बन्धित समाचार