२३ मंसिर,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नयाँ भन्सार ऐन २०८२ का केही दफा भन्सार एजेन्टहरूको हकहित र पेशागत कार्यमा अवरोध सिर्जना गर्दै आएको भन्दै तत्काल सुधारको माग गरेको छ।
सङ्घले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ कि वीरगञ्ज भन्सार कार्यालयका एजेन्टहरूले २०८२/८/२३ देखि कलम बन्द गरी भन्सार जाँच–पास नगर्ने निर्णय लिएका छन्। एजेन्टहरूको अनुसार ऐनका कतिपय प्रावधानले पेशागत असहजता मात्र सिर्जना गरेका छैनन्, यसले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पारिरहेको छ।
सङ्घले भन्सार ऐन २०८२ बाट सिर्जित समस्याको तत्काल समाधान गर्न सम्बन्धित निकायसँग पहल गर्नुपर्ने माग राखेको छ। साथै, सरकारले अनुदार भन्सार नीति लागू गरी व्यापारमा दण्ड–जरिवाना थोपारेर व्यवसाय प्रवद्र्धन गर्न नसक्ने सङ्घको धारणा छ।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भने, “महासङ्घले उठाएका मागहरू न्यायोचित छन्। सरकारसँग जोडदार माग गर्दछौं कि भन्सार सुधार तत्काल पूरा होस्।”
















