२३ मंसिर,काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरूलाई सधैं अपमान गर्ने गरेको आरोप लगाएकी छन्।
एमालेको ११ औं महाधिवेशनको सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा शाक्यले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ओलीले ‘धामीझाँक्री’ भनेर अपमान गरेको प्रति आपत्ति व्यक्त गरिन्। उनले भनिन्, “उहाँमा सोच नै छैन। महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन। महिलालाई अपमान गरेको गर्यै छ। आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसाविरुद्धको निरन्तर अभियान चलिरहेको बेलामा यस्तो शब्द प्रयोग गर्नु सबै महिलाहरूको अपमान हो।”
शाक्यले महिलाको अपमान गर्ने नेतृत्वको विरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले थपिन्, “पूर्वराष्ट्रपति, देश र संविधानको संरक्षक भएकी व्यक्तिलाई यस्तो अपमान गर्नु नेतृत्वको लागि स्वीकार्य छैन। तर केपी ओलीले गर्न सक्छन्। यस्तो नेतृत्व अबको आवश्यकता छैन।”
उपाध्यक्ष शाक्यले ओलीको व्यवहारलाई अवमूल्यनकारी र अप्रचलित नेतृत्व शैलीको उदाहरण भन्दै महिलाप्रति गरिने अवमाननाको विरोध गर्नुपर्ने बताइन्।















