२३ मंसिर,काठमाडौं । सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न जाँचबुझ आयोग गठन गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आयोग दीपक सुवेदीको अध्यक्षतामा गठन गरिएको जानकारी दिए। आयोगका सदस्यमा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य रहेका छन्।
त्यसैगरी मन्त्रिपरिषद्ले कोलम्बो प्लानको नवौँ महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने निर्णय गरेको छ। नेपाल र मोरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने, तथा सिंचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि भएको छ।
यसैगरी, मन्त्रिपरिषद्ले सन १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेर नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व म्याराथन धावक एवं ओलम्पियन जीत बहादुर केसीलाई सम्मान स्वरूप नगद २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।















