Logo

२३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १५६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको योगफल तयार गरेको हो। सुदूरपश्चिमका विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ६३ रनको इंनिङ खेले। आरिफ शेख र शेल्डन ज्याक्सनले समान २०–२० रन जोडे।

विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले समान २–२ विकेट लिए।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो भने सन्दीप लामिछानेको कप्तानीको विराटनगर दोस्रो स्थानमा रही क्वालिफायरमा पुगेको थियो।

आजको खेलको विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ। हार्ने टोलीलाई भने अर्को मौका बाँकी रहेको छ, जसमा दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ।

इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन्। करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफमा पुगेका हुन्। यो खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

दोस्रो क्वालिफायर पर्सि दिउँसो ४ बजे हुनेछ।
एनपीएल क्रिकेटको दोस्रो संस्करणको फाइनल खेल आगामी शनिबार दिउँसो ३:३० बजे सुरु हुनेछ।


सम्बन्धित समाचार