Logo

२३ मंसिर, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पर्साका चारै निर्वाचन क्षेत्रबाट संभावित उम्मेदवारको नाम सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिबाट केन्द्रीय परिपत्रअनुसार प्राप्त सिफारिससूचीमा यसपटक पनि पूर्व मन्त्री, पूर्व सांसद र पटक–पटक अवसर पाउँदै आएका पुराना नेताहरूको नाम नै हावी देखिएको छ, जसले स्थानीय तहमा नयाँ पुस्ताको असन्तुष्टि बढाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयले मंसिर २३ गतेभित्र सिफारिस पठाउन निर्देशन दिएअनुसार पर्साका सबै चार क्षेत्रीय कार्यसमितिले समयमै प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवार सिफारिस गरेका हुन्। तर सिफारिसमा नयाँ अनुहारको समावेश न्यून र पुराना नेताको दोहोरो उपस्थितिले युवा कार्यकर्ताले नेतृत्व हस्तान्तरणको प्रश्न उठाएका छन्।

नेविसंघका पूर्व जिल्ला सभापति तथा क्षेत्र नं. २ का युवा नेता राकेश यादवले पटक–पटक अवसर पाएका नेताहरू पुनः उम्मेदवार बन्ने होडमा लाग्नु नैतिक रूपमा गलत भएको टिप्पणी गरे। उनका अनुसार पार्टीले अब पुराना सोच त्यागेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने समय आएको छ। युवापुस्तालाई अगाडि बढाउन वरिष्ठ नेतृत्वले मार्ग प्रसस्त गर्नुपर्ने पनि यादवको भनाइ छ।

युवा नेता यादव ले बारम्बार अवसर पाएका नेताहरू पुनः उम्मेदवार बन्ने होडमा लाग्नु नैतिक रूपमा उचित नसकेको टिप्पणी गरे। उनका अनुसार, “एकै मानिसले पटक–पटक अवसर पाउने प्रचलन अन्त्य हुनुपर्छ। नयाँ सोचका, आधुनिक ज्ञान–सीप भएका युवालाई अब पार्टीले नेतृत्वमा अघि सार्नुपर्छ।”

सिफारिसअनुसार, पर्सा क्षेत्र नं. १ मा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य अनिल रुंगटाको एकल नाम छ। रुंगटा दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा उनी प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दा पराजित भएका थिए।

क्षेत्र नं. २ मा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य र नेविसंघका पूर्व जिल्ला सभापति राकेश यादवको नाम सिफारिस गरिएको छ। चौरसिया तीनपटक सांसद भइसकेका नेता हुन् भने अमात्य २०७० मा संविधानसभा सदस्य बनेका थिए। सामाजिक जागरण र विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता यादवलाई यस क्षेत्रमा लोकप्रिय मानिन्छ।

क्षेत्र नं. ३ मा पूर्वमन्त्री तथा पूर्वसांसद सुरेन्द्र प्रसाद चौधरी, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, नेविसंघका पूर्व केन्द्रीय सदस्य शम्भु चौहान, किसान नेता असर्फी साह र भगवती चौधरी गरी पाँच जनालाई सिफारिस गरिएको छ। चौधरी २०४८ देखि २०७९ सम्म भएका सबै निर्वाचनमा कांग्रेसका तर्फबाट प्रतिस्पर्धा गरेका, चारपटक सांसद र दुईपटक मन्त्री भइसकेका अनुभवी नेता हुन्। प्रदेश सरकारका पूर्वमन्त्री क्षेत्री २०७९ को निर्वाचनबाट प्रदेशसभा सदस्य बनेका थिए।

क्षेत्र नं. ४ मा पनि पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस गरिएको छ। रिजाल २०४८ देखि २०७९ सम्म भएका सातै निर्वाचनमा कांग्रेसका प्रत्यक्ष उम्मेदवार बनेका र चार पटक सांसद भइसकेका छन्।

प्रत्यक्षतर्फका उम्मेदवारसँगै चारै क्षेत्रीय समितिले समानुपातिकतर्फका उम्मेदवारको नाम पनि जिल्ला कार्यसमितिमा पठाएका छन्। क्षेत्र नं. १ बाट राजकृष्ण अमात्य, ईश्वरभक्त श्रेष्ठ, कासिमा खातुन, बुनेल राम र किरण सरकारका नाम सिफारिस भएका छन्। क्षेत्र नं. २ बाट गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ, रूपा श्रेष्ठ र जुनमाया बल, क्षेत्र नं‍ ३ बाट मुकेश कुर्मी, ध्रुव कुशवाहा र मनोज यादव र क्षेत्र नं. ४ बाट वृहस्पतिकृष्ण श्रेष्ठ तथा सुजाता देवीका नाम सिफारिस गरिएका छन्।

यसरी तयार पारिएको सिफारिससूची मंसिर २५ गतेभित्र जिल्ला कार्यसमितिबाट मधेस प्रदेश कार्यसमितिमा पठाइने छ। प्रदेश कार्यसमितिले आफ्नो राय जोडेर मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा अन्तिम सिफारिस पठाउने प्रक्रिया अघि बढाइने कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्रीले बताए ।


सम्बन्धित समाचार