२४ मंसिर, काठमाडौँ । मानव अधिकारको संरक्षण, प्रवर्द्धन र विश्वव्यापी सहकार्यको प्रतिबद्धतासहित आज विश्वभर ७७औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ ।
सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट्स– यूडीएचआर) को स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १० मा यो दिवस मनाउने गरिन्छ। घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा भेदभाव नगरी सबैलाई समान मानव अधिकार सुनिश्चित गरेको छ।
नेपालमा अन्तराष्ट्रिय मानव अधिकार दिवसले मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि, अधिकारको संरक्षण तथा न्यायपूर्ण र समावेशी समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको सरोकारवालाहरूको भनाइ छ।
यसै सन्दर्भमा मंगलबार मानव अधिकार रक्षकहरूको अन्तरराष्ट्रिय दिवस पनि मनाइएको छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८ तथा नेपाल पक्षराष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धि १९६६ ले प्रत्येक व्यक्तिलाई आफ्नै अधिकारसँगै अरूको अधिकार संरक्षणका लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरेको छ।
नेपालको संविधानले पनि विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा भेला हुन पाउने र सङ्गठन खोल्न पाउने स्वतन्त्रता लगायतका मौलिक हक सुनिश्चित गरेको छ। मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणका लागि नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा तथा संरक्षणसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ।
यी कानुनी तथा संवैधानिक व्यवस्था कार्यान्वयनको सुनिश्चितता गर्दै मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको सरोकारवालाहरूले औंल्याएका छन्।















