२४ मंसिर, बारा । बाराका वरिष्ठ फोटो पत्रकार फैजुल्लाह आलम जीवितै रहेको पुष्टि भएको छ। उनको हाल चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
मंगलबार सामाजिक सञ्जालमा आलमको निधन भएको खबर तीव्र रूपमा भाइरल बनेपछि केही सञ्चारमाध्यमले समेत पुष्टि नगरी निधनसम्बन्धी समाचार प्रकाशन गरेका थिए। तर परिवारजन तथा सम्बन्धित व्यक्तिहरूले ती समाचार गलत भएको स्पष्ट पारेका छन्।
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत ‘श्रद्धाञ्जली दिन हतार नगरौँ, फैजुल्लाह आलम जीवित छन्’ भन्ने आशयको टिप्पणी सार्वजनिक गरेका थिए। तर सो जानकारी आउनुअघि नै उनको निधन भएको खबर व्यापक रूपमा फैलिसकेको थियो।
परिवारजनका अनुसार आलम हाल कोमामा छन् तर चिकित्सकले उनको सास–प्रश्वास चलिरहेको पुष्टि गरेका छन्। चिकित्सकीय निगरानीमा उनको उपचार जारी रहेको जनाइएको छ।
फोटो पत्रकारितामा लामो समय सक्रिय आलम केही वर्षअघि पक्षघात भएपछि स्वास्थ्य समस्याबाट ग्रसित हुँदै आएका थिए। हालै पुनः मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा बेहोस अवस्थामा खिचिएका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको निधन भएको भ्रम फैलिएको परिवारको भनाइ छ।
यता, निधनको झुटो खबरकै आधारमा विभिन्न सङ्घ–संस्थाले आलमको ‘दिवङ्गत आत्माको चिरशान्तिको कामना’ गर्दै विज्ञप्ति जारी गर्नुका साथै परिवारप्रति समवेदना व्यक्त गरेका थिए। पछि उनी जीवित रहेको जानकारी आएपछि ती वक्तव्यहरू तथ्यविहीन भएको खुलेको छ।
यो घटनाले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचार प्रकाशन अघि तथ्य पुष्टि अत्यावश्यक रहेको सन्देश दिएको छ। पत्रकारिता पेशासँग सम्बन्धित व्यक्तिकै हकमा यस्ता असत्य समाचार फैलिनु दुर्भाग्यपूर्ण भएको सरोकारवालाहरूको भनाइ छ।















