Logo

२४ मंसिर,वीरगञ्ज । नयाँ भन्सार ऐनका प्रावधान संशोधनको मागसहित भन्सार एजेन्टहरूको पेनडाउन आन्दोलन आज पनि यथावत् छ। हिजो भएका वार्ता सकारात्मक निष्कर्ष ननिस्केपछि देशभरका भन्सार कार्यालयमा सेवा अवरुद्ध भएको छ, जसका कारण जाँचपास प्रक्रिया रोकिएको र राजस्व संकलनमा गम्भीर असर परेको सरकारी अधिकारीहरूले बताएका छन्।

सरकारले हिजोको वार्तामा आन्दोलनका कार्यक्रम फिर्ता लिएर संवादमा बस्न आग्रह गरे पनि भन्सार एजेन्ट महासङ्घले माग पूरा नभएसम्म आन्दोलन नरोकिने पुनः स्पष्ट पारेको छ। आज पनि दुवै पक्षबीच वार्ता गराउने प्रयास जारी छ।

भन्सार एजेन्ट महासङ्घले केही समयअघि संसदबाट पारित भई मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधान अन्यायपूर्ण रहेको दाबी गर्दै आएको छ। महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार नयाँ ऐनले अन्तर्राष्ट्रिय व्यापार र भन्सार प्रक्रियालाई सहज बनाउनु पर्नेमा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार तथा वैध व्यापार नै हतोत्साहित हुने स्थिति सिर्जना भएको छ। यही कारण महासङ्घले आन्दोलनमा उत्रनु परेको जनाएको छ।

पेनडाउन आन्दोलन गत आइतबार वीरगञ्ज भन्सारबाट सुरु भएको थियो। दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्ण रूपमा ठप्प भयो भने तेस्रो दिन हिजो देशभरका सबै भन्सार कार्यालयका सेवा बन्द गरियो। पेनडाउन जारी रहँदा आयात–निर्यात प्रक्रिया रोकिएकाले उद्योग–व्यवसाय तथा राजस्व प्रशासन दुबै क्षेत्रमा अवरोध उत्पन्न भएको छ।

सरकार र भन्सार एजेन्ट महासङ्घबीच समाधानका लागि वार्ता चलिरहेकाले आजको छलफलले कस्तो मोड लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।


सम्बन्धित समाचार