Logo

२४ मंसिर,काठमाडौं । आफ्नो वरपरको आकाशमा रुस र चीनले संयुक्त हवाई गस्ती सञ्चालन गरेपछि जापानले लडाकु विमानहरू आकाशमा उडाइ निगरानी कडा पारेको छ। जापानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचारसंस्था रोयटर्सले टोकियो–बेइजिङ सम्बन्धमा बढ्दो तनावका बीच जापानले सुरक्षात्मक सतर्कता बढाएको जनाएको छ।

मन्त्रालयका अनुसार दुई रूसी सैन्य विमान जापानी समुद्र क्षेत्र नजिकैबाट उड्दै पूर्वी चीन सागर पुगे, जहाँ ती विमानले दुई चिनियाँ बमवर्षकसँग भेटेर प्यासिफिक क्षेत्रमा संयुक्त उडान अभ्यास सञ्चालन गरेका थिए। जापानी पक्षले ओकिनावा र मियाको टापु आसपास चार चिनियाँ लडाकु विमानले घुम्ती उडान पूरा गरेको दाबी पनि गरेको छ।

मियाको सामुद्रिक मार्ग अन्तर्राष्ट्रिय जलक्षेत्र भए पनि जापानले पछिल्ला संयुक्त गतिविधिलाई शक्ति–प्रदर्शनका रूपमा व्याख्या गरेको छ। जापानी रक्षा मन्त्री शिन्जिरो कोइजुमीले रुस–चीनको समन्वित अभियान आफ्नो देशको सुरक्षा दृष्टिकोणले गम्भीर चिन्ता उत्पन्न गर्ने गतिविधि भएको टिप्पणी गर्नुभयो।

टोकियो–बेइजिङबीचको तनाव जापानी प्रधानमन्त्री साने ताकाइचीले गत महिनामा गरेको टिप्पणीपछि चर्किएको थियो। ताकाइचीले चीनले ताइवानमाथि कुनै पनि सैन्य कदम चालेर जापानको सुरक्षामा खतरा पैदा गरेमा जापानले आवश्यक कदम चाल्न सक्ने चेतावनी दिएका थिए।

चीन र रूसले पछिल्ला वर्षहरूमा सैन्य सहकार्य विस्तार गर्दै आएका छन्। मिसाइल–प्रतिरोध तालिमदेखि दक्षिण चीन सागरमा संयुक्त नौसैनिक अभ्याससम्म दुवै देशले द्विपक्षीय सैन्य साझेदारी सुदृढ बनाइरहेका छन्।


सम्बन्धित समाचार