Logo

२४ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न बैंकबाट ९ थान कम्प्युटर सहयोग प्राप्त गरेको छ। आज आयोजित एक कार्यक्रममा बैंक प्रतिनिधिहरूले महानगरपालिकालाई कम्प्युटर हस्तान्तरण गरेका हुन्।

महानगरपालिकाको भवन र कार्यालय सामग्रीहरू भदौ २३ र २४ गते ‘जेन्जी’ आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीमा पूर्णरूपमा नष्ट भएका थिए। यस घटनापछि नगरका सेवाप्रवाहमा ठुलो प्रभाव परेको थियो। कार्यालयको नियमित कामकाज सहज बनाउन बैंकहरूले आवश्यक कम्प्युटर सामग्री उपलब्ध गराएका हुन्।

वीरगञ्जमा सञ्चालनमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडले प्रत्येक बैंकले एक–एक थान गरी कुल ९ थान कम्प्युटर सहयोग गरेका छन्। महानगरपालिकाका सद्भावना दूत अशोक वैद्यको पहलमा बैंकहरूले सहयोग उपलब्ध गराएका हुन्।

कार्यक्रममा बोल्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले बैंकहरूले संकटको समयमा पुनः सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै भने, “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन घडीमा साथ र समर्थन जनाउने सबै संघ–संस्थाप्रति हामी कृतज्ञ छौं। यसले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ।”

बैंकर एशोसिएशन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व भएको उल्लेख गर्दै महानगरपालिकालाई आवश्यक उपकरण सहयोगपूर्वक उपलब्ध गराइएको जानकारी दिए ।

यसअघि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाल लगायतका विभिन्न संघ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर र फर्निचर सामग्री सहयोग गरिसकेका छन्।


सम्बन्धित समाचार