२४ मंसिर,काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिने कार्यकर्ता पाखा परेकाले एमाले अहिलेको संकटमा पुगेको बताएका छन्।
मानन्धरले अध्यक्ष केपी शर्मा ओलीलाई असक्षम ठहर गर्दै भने, “राम्रा र नराम्रा दुबै कामको जस र अपजस अध्यक्षले लिनुपर्छ।” उनले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय समितिमा लिखित प्रस्ताव पनि पेश गरेको जानकारी दिएका छन्।
उनीँले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन भए पनि किसान पार्टीसँग नभएको बताउँदै नेतृत्वको कमजोरीका कारण कम्युनिष्ट आन्दोलन संकटमा परेको बताए। देश कठिन अवस्थामा रहेको बेला नेतृत्व कमजोर भएको र काम गर्नुपर्ने वर्गसम्म पार्टी पुग्न नसकेको उनले औँल्याए।
डा. मानन्धरले पार्टीमा सामूहिकता हराएको र एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने तयारीमा रहेको बताए। साथै, उनले राजनीतिक दल सम्बन्धी ऐनलाई व्यवस्थित गरी दलहरूलाई प्रभावकारी बनाउनुपर्ने र दलभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।















