२४ मंसिर,काठमाडौं । जेन–जी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।
जेलस्रोत अनुसार, यस्तो किसिमको धरौटीमा रिहा हुने दावाको घटनामा उनी पहिलो व्यक्ति होइनन्। यसअघि ८५ जनाले विभिन्न किसिमका आरोपमा धरौटी सुविधा पाएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौं का अनुसार, हाल पनि ४५ जना प्रहरी हिरासतमा राखिएका छन् भने दैनिक हाजिर जमानीमा छुटेका ९२ जनामाथि अनुसन्धान भइरहेको छ। तीमध्ये अधिकांशले प्रदर्शनका क्रममा हातहतियार लुटपाट गर्ने, डाँका चोरी, आपराधिक उपद्रव जस्ता घटना गरेको आरोप छ।
उक्त आन्दोलनका क्रममा काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा तीन प्रहरी हत्याका घटनामा संलग्न १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएर सबैलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। त्यस्तै, विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुट्ने, लुकाउने र सार्वजनिक प्रदर्शन गर्ने १६ जनालाई पनि कारागार पठाइएको छ।

प्रहरीका अनुसार, मतियारीको भूमिका खेलेको एक जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ। डाँका चोरीमा संलग्न दुई जनालाई पनि हाल जिल्ला प्रहरी परिसर, भद्रकालीमा अनुसन्धान भइरहेको छ।
जिल्ला अदालतको आदेशअनुसार, हालसम्म ७४ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ। तीमध्ये आपराधिक उपद्रवका ३७, हातहतियारका १६, चोरीका ३, कर्तव्य ज्यानका १५, र ज्यान मार्ने उद्योगका १ जना रहेका छन्।
धरौटीमा रिहा हुनेमध्ये आपराधिक उपद्रवमा ५३, चोरीमा १२, अभद्र व्यवहारका २०, र अन्य विभिन्न मामिलामा छुटेका ८५ जना छन्।
प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, ९२ जनालाई दैनिक हाजिर जमानीमा रिहा गरिएको छ र उनीहरुको कसुर पुष्टि भएमा मुद्दा चलाउने गरी प्रहरीले निगरानी राखिरहेको छ।
















