२४ मंसिर,काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा कुनै झोकमा वा अचानक निर्णय गरेर नगरेको स्पष्ट पारेका छन्। बुधबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले उम्मेदवारी औपचारिक र पारदर्शी ढंगले गरिएको बताएका हुन्।
उनका अनुसार, “प्यानल बनाउने, नबनाउने भन्ने कुरा होइन। यो उम्मेदवारी कुनै झ्वाँक झ्वाँकमा गरिएको विषय होइन। हामीले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी पनि गराएको छौँ। सार्वजनिक रुपमा पनि हो। मैले पार्टी अध्यक्षसँगै कुरा गरेर केन्द्रीय कार्यालयमा औपचारिक रुपमा दर्ता गरेको हो।”
पार्टीमा विचारविमर्शबारे विवाद नभएको पनि उनले स्पष्ट पारे। पोखरेलले भने, “हाम्रो पार्टीभित्र छलफल हुन्थ्यो, तर ती छलफलहरू बाहिर बग्रेल्ती भएर आउँदैनथियो। महाधिवेशनको आयोजना भइरहँदा एजेन्डाहरू के के हुन्? अहिले हाम्रो विचारमा प्रारम्भमा पार्टीमा विवाद छैन।”
पार्टी जीवनमा कार्यसम्पादन शैली त्रुटिपूर्ण भएको र त्यसले समस्या उत्पन्न गरेको पोखरेलको भनाइ थियो। उनले भने, “जसले गर्दा हाम्रा असल विचार रुटमा पुग्ने कुरामा समस्या पैदा भयो। विचार अनुसार व्यवहारमा लागू गर्ने कुरामा कमजोरी हुन पुग्यो। हाम्रो तथ्यले एउटा पुष्टि गरेको छ, सत्यको घोषणा अर्कै अर्कै हुन थाल्यो। आफूले गल्ती कमजोरी गरिएको हुन्छ, त्यसप्रति रियलाइजेशन हुन सकेन। जनतामा पुग्ने कुरा कमजोर हुँदै गयो।”
सामूहिक नेतृत्व र पार्टी लोकतन्त्रको महत्त्वमाथि जोड दिंदै उनले थपे, “सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने हो भने कुनै पनि दल, अझ कम्युनिस्ट पार्टी चल्न सक्दैन। विधि र पद्धतिबाट चल्नुपर्ने आवश्यकता छ। सामूहिक नेतृत्वलाई अगाडि बढाइएन भने पार्टी चल्न सक्दैन, सामूहिक नेतृत्व प्रणाली कमजोर बन्यो भने पार्टी रहँदैन।”















