२४ मंसिर,वीरगञ्ज । रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सांसद युवराज भट्टराई ‘समीर’ ले बुधबार जिल्लामा महत्त्वपूर्ण पूर्वाधार विकास आयोजनाको शिलान्यास गरेका छन्।
शिलान्यास समारोह अन्तर्गत वृन्दावन नगरपालिकाका विश्रामपुर, बेनौली, नरकटिया र हर्दिया गाउँलाई जोड्ने नाला सहितको कालोपत्रे सडक निर्माण कार्यको औपचारिक शुरुवात गरिएको हो। यो आयोजना मधेस प्रदेश सरकारको १२ करोड ७८ लाख रुपैयाँको लागतमा निर्माण हुने योजना रहेको छ।
सांसद भट्टराईले सो सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज र सुरक्षित यातायात सुविधा पाउने र दीर्घकालीन रूपमा जलजमावको समस्या समाधान हुने अपेक्षा व्यक्त गरे।
शिलान्यास कार्यक्रममा पूर्व सांसद देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका पूर्व मेयर राम स्नेही यादव, मेयरका प्रत्याशी प्रेमशंकर यादव, समाजसेवी रामप्रसाद पटेलसहित स्थानीय नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।
सांसद भट्टराईले स्थानीय पूर्वाधार विकासमा ध्यान दिँदै समुदायको दैनिकी सुधार गर्ने उद्देश्यले आगामी दिनमा थप विकास कार्यक्रम संचालन गरिने बताए।















