२५ मंसिर, काठमाडौँ । दाङको लमहीमा आज बिहान भएको बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको यात्रुबाहक बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेपछि दुर्घटना भएको हो।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार घाइते सबै यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये दुईजनाको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
दुर्घटनाग्रस्त बसमा ३८ जना यात्रु सवार रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा पट्टा (लीफ–स्प्रिङ) भाँचिँदा बस अनियन्त्रित भई दुर्घटना भएको चालकले बयान दिएको प्रहरी निरीक्षक पाण्डेयले बताए। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयबासीले रातैभर उद्धारकार्यमा सहयोग गरेपछि घाइतेहरूको जीवन रक्षामा सहज भएको अस्पताल स्रोतले जनाएको छ।














