२५ मंसिर, काठमाडौँ । राष्ट्रिय महिला आयोगले देशभर सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ।
‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५’ निःशुल्क हेल्पलाइन सेवाको आठौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव रेखा कँडेलले पछिल्ला वर्षमा घरेलु हिंसाका घटनामा उल्लेख्य वृद्धि भएको जानकारी दिइन्।
उनका अनुसार आयोगमा दर्ता भएका ६ वर्षको अवधिमा कूल ७ हजार ३ सय ४४ उजुरीमध्ये ८८ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत महिला हिंसा सम्बन्धी रहेका छन्। घरेलु हिंसामा पर्ने महिलामध्ये २६ देखि ४० वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित हुने समूह भएको आयोगले जनाएको छ।
सचिव कँडेलका अनुसार निरक्षर र सामान्य लेखपढ गर्न जान्ने महिलाहरू घरेलु हिंसाका घटनामा बढी परेको तथ्यांकले देखाउँछ। गएको आर्थिक वर्षमा मात्र घरेलु हिंसा परामर्श सेवा तथा महिला अधिकार प्रयोगमा रोक लगाइनेजस्ता मुद्दासहित १,२०२ उजुरी दर्ता भएका थिए।
उजुरीका प्रकृतिमा कुटपिट, मनोवैज्ञानिक हिंसा, आर्थिक हिंसा, सामाजिक बहिष्कार, जबर्जस्ती सम्बन्ध विच्छेद तथा सम्पत्तिसम्बन्धी वञ्चनाजस्ता मुद्दाहरू प्रमुख रहेको आयोगले जनाएको छ।
कार्यक्रममा आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले महिला अधिकार संरक्षण र संवर्द्धनका मुद्दा अझै चुनौतीपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि आयोगले पीडितमैत्री सेवाहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्।
आयोगले हिंसा रोकथामका लागि समुदायस्तरमा जनचेतना, पीडित सहायता सेवा विस्तार र हेल्पलाइन–११४५ को पहुँच बढाउने तयारी गरेको जनाएको छ।














