२५ मंसिर, काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य उकालो लागेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाल सुन २ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छ। हिजो यसकै मूल्य २ लाख ५२ हजार १०० रुपैयाँ थियो।
यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य मानिन्छ।
चाँदीतर्फ पनि मूल्य निरन्तर नयाँ उच्च बिन्दुतर्फ उक्लँदै गएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो चाँदीको हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। अघिल्लो दिनको तुलनामा चाँदीमा ५५ रुपैयाँको वृद्धि भएको छ। हिजो यसको मूल्य ३ हजार ७५० रुपैयाँ थियो।
सुन–चाँदीका दरमा भइरहेको तीव्र उतारचढावले बजारमा कारोबार सक्रियता बढेको व्यवसायीहरूको भनाइ रहेको छ।















