२५ मंसिर,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै आफ्ना केन्द्रीय सदस्यहरुलाई देशभरका निर्वाचन क्षेत्रमा खटाएको छ। निर्वाचन तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित संगठनात्मक काममा सक्रिय रूपमा परिचालन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार केन्द्रीय सदस्यलाई प्रत्येक संसदीय क्षेत्रमा समन्वय समिति र बुथ समिति गठन गर्ने, बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल तथा गाउँ समितिहरू शीघ्र गठन गर्ने र पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउने जिम्मा दिइएको छ।
त्यसैगरी चुनावी प्रचार–प्रसार, मतदाता सचेतना, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन, प्रशिक्षण कार्यक्रम लगायतका गतिविधि योजनाबद्ध रूपमा सञ्चालन गर्न तथा निर्वाचन क्षेत्रका आवश्यकता अनुसार कार्यक्रम र कार्ययोजना तयार गरी समयमै कार्यान्वयन गर्ने काममा पनि केन्द्रीय नेताहरूले अग्रभूमिका भूमिका निभाउने बस्नेतले बताए।
निर्वाचन क्षेत्रतर्फ खटिएका सदस्यहरूलाई मतदाता तथ्यांक संकलन, संगठनको अवस्था, प्रतिस्पर्धी दलहरूको स्थिति विश्लेषण गरी नियमित रिपोर्टिङ गर्नुपर्नेछ। साथै, उम्मेदवार विजयी हुने सम्भावना उच्च रहेका क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष ध्यान, शक्ति परिचालन तथा रणनीतिमूलक अभियान सञ्चालनका लागि तथ्यांक आधारित नतिजामूखी काम गर्न निर्देशन दिइएको जसपाले जनाएको छ।















