२५ मंसिर, विराटनगर । मोरङ प्रहरीले रंगेली नगरपालिका–८ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बुधबार राति विद्युत् कार्यालय नजिकै खेतमा रुखमुनि परालले छोपेर लुकाइराखिएको अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।
बरामद गाँजा २९ वटा बोरामा राखिएको अवस्थामा भेटिएको हो। कसले ल्याएर खेतमा लुकाइराखेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशका पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा मोरङ–सुनसरी हुँदै तस्करीमार्फत भारत पुर्याइने गरेको र भारत लैजानकै लागि लुकाइराखिएको अवस्थामा गाँजा भेटिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ।















