२५ मंसिर,धनगढी । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का १९ वर्षीय निरज चौधरीको बर्दियाको राजापुरमा भएको हत्या घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट महावीरलाई पक्राउ गरेको हो। महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन्।
प्रहरीका अनुसार बर्दियाको राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। घाइते अवस्थामा निरजलाई नेपालगन्ज पुर्याएपछि घटना बारे प्रहरीलाई जानकारी भएको थियो। घटनास्थलमा रहेका महावीर चौधरी मोटरसाइकलमा चढेर कैलालीतर्फ फरार भएका थिए।
इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीले समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरेको र उनको साथबाट पेस्तोल बरामद भएको जानकारी दिएका छन्। पेस्तोल हत्यामा प्रयोग भए–नभएको पुष्टि हुन भने बाँकी छ।
यसै घटनामा हमार थारू रेष्टुरेन्ट सन्चालक बुद्धिप्रसाद चौधरी, उनकी पत्नी र छोरा राहुललाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। महावीरले फरार हुँदा राहुलकै मोटरसाइकल प्रयोग गरेका थिए, जुन समेत प्रहरीले बरामद गरेको छ।















