२५ मंसिर,काठमाडौं । बौद्धस्थित ह्यात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ।
२४ भदौमा जेनजी आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण होटल हाल बन्द छ। होटल व्यवस्थापनले पुनर्निर्माणमा कम्तीमा एक वर्ष लाग्ने भन्दै कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको हो।
होटल व्यवस्थापनका अनुसार “आन्दोलनका क्रममा भएको तोडफोडले ठूलो आर्थिक तथा भौतिक क्षति पुर्याएको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन।”
सहमति अनुसार होटलले एक वर्षसम्म कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ र सामाजिक सुरक्षा कोषमा पनि योगदान गर्नेछ। यसअन्तर्गत होटल बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी र रोजगारीको सुरक्षा सुनिश्चित गरिएको छ।
मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारी पुनः रोजगारीमा फर्काइनेछ। होटल व्यवस्थापनका अनुसार अधिकांश कर्मचारी सहमतिमा सकारात्मक रहेको बताइएको छ भने सहमतिमा नआउने कर्मचारीका हकमा श्रमिक कटौतीको प्रक्रिया अपनाइनेछ।















