Logo

फाइल तस्वीर

 २५ मंसिर,काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा नगद जलेको भनी फैलाइएको अफवाह गलत भएको दाबी गरेकी छन्।

आफूविरुद्ध परेको रिट मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलाइएको हल्ला पूर्ण रूपमा आधारहीन भएको जनाएकी छन्। उनका अनुसार, “म तथा मेरो पति, नेपाली कांग्रेस सभापति र पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको भन्ने समाचार विभिन्न मिडियामा सार्वजनिक भई दोषारोपण गरिएको छ, जुन पूर्ण रूपमा गलत हो।”

डा. राणा देउवा राष्ट्रिय सुरक्षा परिषद्का सदस्य समेत रहेकी छन्। रिट निवेदनमा उनीहरूले समयमै परिषद्को बैठक डाकेर सेना परिचालन नगर्दा जनधनको क्षति भएको र दोषीलाई कारबाही गर्नुपर्ने माग गरिएको थियो।

जवाफमा डा. राणाले भनिन्, “शान्तिपूर्ण आन्दोलनका क्रममा उछृङ्खल समूहले हाम्रो निजी निवासमा प्रवेश गरी भौतिक आक्रमण गरेको थियो र मेरो निवासमा आगो लगाइएको थियो। यस क्रममा हामी घाइते समेत भयौं।” उनले स्पष्ट पारेकी छन् कि सुरक्षा परिषद्को बैठक डाक्न नसकिएको अवस्था रहे पनि घरबाट रकम जलेको कुनै तथ्य नभएको सरकारी जाँचबाट पुष्टि भइसकेको छ।


सम्बन्धित समाचार