२५ मंसिर,काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनलाई ‘मनोरोगको द्योतक’को संज्ञा दिएका छन्।
सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमा ओलीले आफूविरुद्ध रिट निवेदन दर्ता गर्ने पक्षलाई कानूनी उपचार खोज्नुपर्ने भन्दै मानसिक रुपमा अस्वस्थ रहेको आरोप लगाएका छन्। उनले भनेका छन्, “सेना परिचालन सम्बन्धी जवाफदेहीता कानूनले निर्धारण गरेको अवस्थामा असम्बन्धित निकायलाई दोषारोपण गर्नु र कारबाहीको माग गर्नु विपक्षीको मनोरोगको द्योतक हो।”
सर्वोच्च अदालतमा विचाराधीन उक्त रिट निवेदन जेनजी आन्दोलनमा भएको दमन, बल प्रयोग र हताहतीसँग सम्बन्धित रहेर ओलीविरुद्ध दर्ता गरिएको थियो। निवेदनमा तत्कालीन प्रधानमन्त्री र राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राखिएको थियो।
ओलीले लिखित जवाफमा आफ्नो भूमिका व्यक्तिगत नभई राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षको हैसियतमा सीमित भएको स्पष्ट पारेका छन्। साथै उनले रिट निवेदन खारेज गरी न्यायनिरुपण योग्य नभएको माग गरेका छन्।
उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा पेश गरेको लिखित जवाफको अधिकांश भाग ‘कपी–पेष्ट’ गरी अदालतमा बुझाएको उल्लेख छ। साथै, उनले शुसीला कार्कीलाई प्रधानमन्त्रीको सिफारिस नगरेको र राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय गैरसंवैधानिक भएको पनि जिकिर गरेका छन्।















