Logo

२५ मंसिर,काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा बजेट घटेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको उल्लेख गर्दै यसलाई सुधार्न आवश्यक कदम चालिनुपर्ने बताए।

खनालका अनुसार, देशको समग्र राजस्व संरचनामा वृद्धि भए पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको छ। स्वास्थ्य क्षेत्रमा बजेट घट्नुको कारण अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नहुँदा हुनसक्ने उनले बताए।

अर्थमन्त्री खनालले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने र बाँकी रहेको रकम छिटो भुक्तानी गर्न आवश्यक रहेको बताए। उनले भने, “अगाडिको सरकारले बाँकी राख्यो भने अहिलेको सरकारले तिर्न नसक्ने भन्ने बहाना चलाउन हुँदैन। सरकार भनेको निरन्तरता हो।”

खनालले स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा पुनर्विचार गर्नुपर्नेमा जोड दिंदै राज्यले धान्न नसक्ने संरचना राख्नु हुँदैन भने। स्वास्थ्य संस्थालाई सेवा दिन सक्ने गरी पर्याप्त वित्तीय पहुँच पुर्‍याउनुपर्नेमा उनले बल दिएका छन्।

अर्थमन्त्री खनालले विना कारण स्वास्थ्य क्षेत्रमा बजेट कटौती गर्नु स्वीकार्य नभएको भए पनि माग गरे बमोजिम तत्काल सबै बजेट पाउन नसकिने पनि स्पष्ट पारे। उनले राष्ट्रको स्रोतको सदुपयोग गर्न सबै निकायलाई ध्यान दिनुपर्ने बताए।


सम्बन्धित समाचार