२५ मंसिर,सिराहा । मालपोत कार्यालय सिराहाका प्रमुख अरबिन्द कुमार चौधरीले आफूले एमालेको एघारौँ महाधिवेशनको लागि ५१ हजार रुपैयाँ चन्दा नदिएको दाबी गरेका छन्।
चौधरीले सार्वजनिक भएका चन्दा रसिदको खण्डन गर्दै भने, “हिजो एमालेका केही मान्छे महाधिवेशनको लागि मसँग चन्दा माग्न आएका थिए, तर मैले चन्दा दिएको छैन। मलाई बदनाम गर्न यो प्रचार गरिएको हो।” उनले मालपोत कार्यालय सिराहाको नामबाट पनि यस विषयको प्रचार गलत भएको स्पष्ट पारे।
एमाले सिराहाका अध्यक्ष अशोक यादवले भने, “त्यो रसिदमा छाप पनि छैन। हाम्रो टिमबाट मालपोत कार्यालयबाट कुनै सहयोग लिएको जानकारी मलाई छैन। म यस विषयमा थप बुझाइ गर्नेछु।”
यसअघि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मालपोत प्रमुख चौधरीले एमाले महाधिवेशनका लागि ५१ हजार रुपैयाँ चन्दा दिएको रसिद सार्वजनिक भएको थियो, जसलाई चौधरीले भ्रामक र बदनाम गर्न गरिएको प्रचार भएको बताएका छन्।















