२५ मंसिर,काठमाडौं । प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान जारी राखिरहेको समयमा श्रेष्ठले आफ्नो राजीनामा दिएका हुन्।
कम्पनी सचिव अमित भण्डारीका अनुसार, श्रेष्ठ सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक बनेका थिए। उनका अनुसार श्रेष्ठको राजीनामा बुधबार बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ।
यसैबीच, सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
बुधबारै बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई पनि सीआईबीले पक्राउ गरेको छ। उनीहरूमाथि बैंकिङ कसूरसम्बन्धी अनुसन्धान भइरहेको छ।















