२५ मंसिर, काठमाडौं । निवर्तमान मुख्यसचिव एकनारायण अर्यालले भदौ २३ मा जेनजी आन्दोलनका क्रममा गोली चलेको घटनाबारे सर्वोच्च अदालतमा जवाफ पेश गरेका छन्। उनले आफ्नो जवाफमा शान्तिपूर्ण आन्दोलन निषेधाज्ञा तोडेर अघि बढेकाले ‘बल प्रयोग भएको’ बताएका छन्।
अर्यालले घटनामा चार जना जेनजी प्रतिनिधीलाई सांकेतिक रूपमा जिम्मेवार ठहराएका छन्। उनीहरू हुन् – अंकित मल्ल, हामी नेपालका सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादव। उनका अनुसार, यी प्रतिनिधिहरूले स्वीकृति लिएर शान्तिपूर्ण कार्यक्रम गर्नुपर्नेमा विपरित रूपमा एभरेष्ट होटलको पूर्वतर्फ जान खोजेका र अन्तराष्ट्रिय सम्मेलन केन्द्रतर्फ प्रवेश गर्ने प्रयास गरेको बताएका छन्।
मुख्यसचिव अर्यालले आफ्नो जवाफमा लेखेका छन्, ‘यसबाट शान्ति सुरक्षा, सरकारी सार्वजनिक सम्पत्तिको रक्षा तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको सुरक्षा, हतियारको रक्षा गर्नुपर्ने अवस्था आएको देखिन्छ।’
जेनजी आन्दोलनका बेला सुरक्षा परिषद सदस्यको हैसियतमा आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप लगाएर अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। उनले आफ्नो जवाफमा निषेधित सरकारी क्षेत्र प्रवेश गर्न खोज्दा उत्पन्न परिस्थितिलाई कानूनअनुसार व्यवस्थापन गर्नु आवश्यक रहेको बताए।
अर्यालले भनेका छन्, ‘शान्तिसुरक्षाका लागि खटिने सुरक्षाकर्मीले आत्मरक्षा गर्नु र हातहतियारको रक्षा गर्नु जरुरी हुन्छ। कर्फ्यूको बेलामा हुने कानूनी विपरीत काम कारवाहीलाई कानूनी दायरामा ल्याउनु आवश्यक छ।’















