Logo

२५ मंसिर,काठमाडौं । अगामी पुस १ गतेदेखि नेपालमा बाघ गणना सुरु हुने भएको छ। यस वर्ष चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गणना गरिनेछ भने बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्याको अध्ययन गरिने छ।

गणना तीन महिनासम्म चल्नेछ र प्रत्येक चार वर्षमा गरिने परम्परालाई निरन्तरता दिइने छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइनेछ।

तालिममा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षण साझेदारहरू सहभागी हुनेछन्। करिब १५० जनाले तालिम लिने र त्यसपछि गणनामा खटिने जानकारी उनले दिए। पुस ३ गते उनीहरू कार्यक्षेत्रमा परिचालन हुनेछन्।

मगरका अनुसार दुई निकुञ्जमा ९०० वटा ग्रिड बनाइएका छन्, जहाँ प्रत्येक ग्रिड दुई वर्ग किलोमिटर क्षेत्रफलमा पर्नेछ। गणना दुई निकुञ्जलाई तीन भागमा बाँडेर गरिनेछ। प्रत्येक भागमा ३०० ग्रिड हुनेछन् र एउटा ग्रिडमा २० दिन क्यामेरा राखिनेछ। ग्रिडहरूबीच प्राविधिक क्याम्प बनाएर दैनिक अनुगमन गरिनेछ।

बाघ बढी आवत–जावत गर्ने क्षेत्रहरूमा स्वचालित क्यामेरा राखिनेछ। ती क्यामेराले खिचेका फोटोमा बाघको शरीरको पाटा अनुसार संख्या छुट्याइनेछ। प्रत्येक बाघको पाटा फरक हुने भएकाले गणना विश्वसनीय हुने अपेक्षा गरिएको छ।

पहिलो कम्प्लेक्स चितवन–पर्सा, दोस्रो कम्प्लेक्स बाँके–बर्दिया र तेस्रो कम्प्लेक्स शुक्लाफाँटा–लालझन्डी क्षेत्रको हुनेछ।

सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वयस्क बाघ रहेको पाइएको थियो। त्यसमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए।

बाघ गणना सकिएपछि गैँडा गणना गर्ने तयारी पनि गरिएको छ। गत वर्ष बजेट अभावका कारण गैँडा गणना स्थगित भएको थियो। हरेक चार वर्षमा गरिने गैँडा गणना यस वर्ष फरक विधिबाट सञ्चालन हुने छ।


सम्बन्धित समाचार