२५ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनायो। लुम्बिनीका लागि ओपनर डार्सी सर्टले ४५ रनको प्रभावशाली पारी खेले भने कप्तान रोहित पौडेलले ३४ रन जोडे। दुबैबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भयो। अन्य ब्याट्सम्यानबाट भने ठूला योगदान आउन सकेन। दिनेश अधिकारी १, निरोशन डिक्वेला २९, सन्दीप जोरा ०, जेजे स्मिथ ०, दिलिप नाथ १ र शेर मल्ल ७ रनमा आउट भए। अन्त्यतिर अभिषेश गौतम २ र रुवेन ट्रम्पलम्यान ११ रनमा अविजित रहे।
बलिङतर्फ विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ विकेट, जबकि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।
१३५ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा अलआउट भयो। टोलीका लागि साम हिजलेटले मात्र उल्लेख्य ३४ रन बनाए। अन्य प्रमुख खेलाडी मार्टिन गप्टिल २, फाफ डु प्लेसिस ३, नरेन भट्ट २१, शंकर राना ७, मार्चेन्ट डि लिङे १७ लगायतका ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।
लुम्बिनीका बलरहरूले प्रभावकारी प्रदर्शन गरे। तिलक भण्डारीले ३ विकेट, रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिषेश गौतमले २–२ विकेट, तथा शेर मल्लले १ विकेट हात पारे।
यस जितसँगै लुम्बिनी लायन्स फाइनलमा पुगेर शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्ने भएको छ।















