२५ मंसिर, वीरगञ्ज । पर्सामा सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा ९१ किलो गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सिमावर्ती क्षेत्रमा बढ्दै गएको अवैध तस्करी तथा लागुऔषध ओसारपसार रोक्न सञ्चालन गरिएको विशेष अभियानका क्रममा ठोरी गाउँपालिका–४, निर्मल बस्तीबाट गाँजा फेला पारिएको हो।
बरामद गरिएको प्रतिबन्धित पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सिमावर्ती क्षेत्रमा भइरहेको लागुऔषध ओसारपसार र अवैध गतिविधिले समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सशस्त्र प्रहरीले पर्सा क्षेत्रमा निगरानी तथा नियन्त्रण कार्य झन् कडा बनाउने बताएको छ।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी, नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निरन्तर कारबाही र नियमित गस्तीलाई तीव्र पारिएको छ।















