Logo

२७ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि आज (शनिबार) साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ३ः३० बजे फाइनल खेल सुरु हुनेछ।

पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको हो। कप्तान दीपेन्द्रसिंह ऐेरीको नेतृत्वमा रहेको सुदूरपश्चिम यस संस्करणको बलियो दाबेदार मानिएको छ। गत वर्ष फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।

यता, दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी लायन्सले फाइनलमा स्थान सुरक्षित गरेको हो। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी गत संस्करणमा लिग चरणबाटै बाहिरिएको भए पनि यसपटक उत्कृष्ट पुनरागमन गर्दै उपाधि नजिक पुगेको छ। लुम्बिनी पहिलो पटक एनपीएलको उपाधि जित्ने लक्ष्यमा छ।

लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो। त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

एनपीएलको उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ लाख रुपैयाँ हात पार्नेछ। तेस्रो हुने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। फाइनलसँगै दोस्रो संस्करणको एनपीएल औपचारिक रूपमा समापन हुनेछ।


सम्बन्धित समाचार