२७ मंसिर, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार दुवै कर्मचारीलाई गत मङ्सिर २ गते सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतो र योजनाबद्ध रूपमा वीरगञ्ज महानगरपालिका–२५ स्थित कित्ता नम्बर ५५ को ०.००६४ हेक्टर जग्गा छुट जग्गा दर्ता गरिदिने सहजीकरणको नाममा सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार राउत र उपाध्यायले आफ्नो पद तथा अधिकारको दुरुपयोग गर्दै गैरकानुनी लाभ लिन खोजेको प्रमाणित भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो।
आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गरी बिगो एक लाख रुपैयाँ निर्धारण गरिएको छ। साथै सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार कैद सजाय र बिगोबमोजिम जरिवाना मागदाबी गरिएको आयोगले जनाएको छ।
आयोगले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूले कानुन विपरीत आचरण गरे कडा कारबाही गरिने स्पष्ट पार्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको जनाएको छ।
















