Logo

१७ मंसिर, काठमाडौँ । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई फाइनलमा पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। यससँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै उपाधि आफ्नो नाममा लेखायो।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोएल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। उक्त योगफल एनपीएल इतिहासको संयुक्त रूपमा चौथो न्यून स्कोर तथा फाइनलको सबैभन्दा कम योगफल हो।

लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमको इनिङ्स ध्वस्त पारे। कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान र शेर मल्ल ले समान ३–३ विकेट लिए। रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई आउट गरेका थिए। रोहितले ४ ओभरमा मात्र १२ रन खर्चिए।

रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे। तिलक भण्डारीले १ विकेट लिए।

सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डे ले सर्वाधिक ३३ रन बनाए। ५१ बल खेलेका उनले १ चौका प्रहार गरे। कप्तान दीपेन्द्र सिंह ऐरीले २० बलमा १३ रन जोडे। हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन बनाए।

जवाफी ब्याटिङमा लुम्बिनीका ओपनर दिनेश अधिकारी ले विस्फोटक सुरुआत गरे। उनले पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीविरुद्ध ४ छक्का प्रहार गर्दै २७ रन जोडे। दिनेशले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाए।

पहिलो विकेटका लागि दिनेश र डार्शी सर्टले ४ ओभरमै ५८ रनको साझेदारी गरे। तर पाँचौँ ओभरमा हेमन्त धामीले सर्ट र दिनेश दुवैलाई आउट गर्दै खेलमा ब्रेक लगाए। सर्टले १४ बलमा १३ रन बनाए।

यस उपाधिसँगै लुम्बिनी लायन्सले पछिल्ला ६ खेलमा लगातार जित हात पार्दै सानदार पुनरागमन पूरा गर्‍यो। लिग चरणको सुरुआती चरणमा लगातार तीन खेल हार्दै बाहिरिने जोखिममा पुगेको लुम्बिनीले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः एनपीएलको उपाधि जित्न सफल भयो।


सम्बन्धित समाचार