Logo

२७ मंसिर, काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटनसँगै सामाजिक सञ्जालमा एउटा तस्बिर तीव्र गतिमा भाइरल भयो। तस्बिरमा सल्लाघारी चौर मानवसागरझैँ देखाइए पनि पछि उक्त तस्बिर वास्तविक नभई नक्कली भएको पुष्टि भएको छ।

उद्घाटन समारोहलाई ‘अनुशासित तथा भव्य विशाल सभा’ भन्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरमध्ये एक नक्कली रहेको पाइएको हो। त्यस्तै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पनि सोही तस्बिर सेयर गरेपछि पछि हटाएका छन्।

वास्तविक अवस्था भने भाइरल तस्बिरमा देखाइएजस्तो थिएन। शनिबार बिहानदेखि सल्लाघारीमा कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति देखिए पनि मध्यान्हपछिमात्र विभिन्न स्थानबाट जुलुस आउन थालेका थिए। दिउँसो करिब २ बजेसम्म सबै जुलुस पुग्दा चौरको आधाभन्दा बढी भाग भरिएको थियो भने मञ्चतर्फ र पछाडिको क्षेत्रमा समेत उल्लेख्य सहभागिता देखिन्थ्यो।

सञ्चारकर्मीहरूले ड्रोनमार्फत खिचेका फोटो तथा भिडियोले वास्तविक उपस्थितिको अवस्था स्पष्ट देखाएका छन्। ती दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘जनसागर’ तस्बिरसँग मेल खाँदैनन्।

अनुसन्धानका क्रममा भाइरल तस्बिर सल्लाघारीको वास्तविक भौगोलिक संरचनासँग नमिल्ने, अस्वाभाविक रूपमा भीड बढाइएको देखिने तथा एआई प्रविधिबाट निर्माण गरिएको संकेत भेटिएको हो।

आयोजक पक्षले विगतमा काठमाडौंमा आयोजित एमालेका ठूला सभाहरूको तुलनामा सल्लाघारीको उद्घाटनमा सहभागी संख्या उल्लेख्य नै रहेको स्वीकार गरेको छ। तर वास्तविकताभन्दा ठूलो देखाउने उद्देश्यले प्रयोग गरिएको डिजिटल तस्बिरले राजनीतिक कार्यक्रममा सत्य र प्रचारबीचको सीमारेखा पुनः प्रश्नमा परेको छ।


सम्बन्धित समाचार