२७ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट पाठ सिक्दै आफूहरू एकीकृत र बलियो कम्युनिष्ट पार्टी निर्माणतर्फ दृढताका साथ अगाडि बढेको बताएका छन्।
आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिताका आधारमा अब नेकपालाई देशकै पहिलो शक्ति बनाउने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए। कर्णालीमा देखिएको जनसमर्थन र मायाले आफू थप उत्साहित भएको उनको भनाइ थियो।
संयोजक दाहालले १४ भन्दा बढी राजनीतिक दल मिलेर विगतका कमजोरी सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरिएको उल्लेख गर्दै देशका विभिन्न स्थानमा सम्पन्न एकता सभामा देखिएको व्यापक सहभागिताले पार्टी एकीकरण अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
उनले विसं २०४१/४२ सालदेखि नै आफू र माधवकुमार नेपालबीच पार्टी एकताका विषयमा छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका कठिन समयमा समेत निरन्तर संवाद कायम रहेको बताए।
“हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ। सशस्त्र युद्ध सुरु भएको दुई वर्षपछि नै नेपाल कमरेड र म देशको विकास र नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका थियौँ,” दाहालले भने, “एमाले–माओवादीबीच सहमति भएपछि मात्र १२ बुँदे सहमति सम्भव भएको हो। चार दशकदेखि एकताका प्रयास हुँदै आएका थिए।”
कर्णालीलाई नेपाली सभ्यताको जननी, जडीबुटी तथा जलस्रोतको विशाल भण्डार भएको क्षेत्रका रूपमा उल्लेख गर्दै उनले यहाँको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै विदेशिएका युवालाई स्वदेश फर्किने वातावरण निर्माणका लागि पार्टी सक्रिय रूपमा लागिरहेको पनि दाहालले बताए।
कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले अलग–अलग कम्युनिष्ट शक्तिलाई एक ठाउँमा ल्याएर राजनीतिमा ऐतिहासिक र महत्वपूर्ण काम भएको बताए। पार्टी एकताले कार्यकर्ता र जनतामा नयाँ उत्साह थपिएको उनको भनाइ थियो।
“देशका हरेक महत्वपूर्ण मोडमा हामी सही स्थानमा उभिँदै आएका छौँ,” सहसंयोजक नेपालले भने, “जनतालाई देशको वास्तविक मालिक बनाउन लोकतन्त्र र गणतन्त्र आवश्यक छ। त्यसैले देशको स्वतन्त्रता, स्वाधीनता र जनहितको पक्षमा उभिने देशभक्त पार्टीका रूपमा नेकपालाई स्थापित गर्न हामी प्रतिबद्ध छौँ।”
















