Logo

२७ मंसिर, काठमाडौँ । नयाँ नेतृत्व चयनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेको एमाले आइतबारदेखि बन्दसत्रमार्फत नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्दैछ।

आइतबार बिहान साढे ७ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। देशभरका करिब साढे ६ लाख पार्टी सदस्यबाट छनोट भई आएका २ हजार २ सय ६२ जना प्रतिनिधिले अध्यक्ष एक, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव, सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछन्।

महाधिवेशनका लागि हालका सबै पदाधिकारीहरू समेटिएको अध्यक्ष मण्डल गठन भइसकेको छ। यस्तै महाधिवेशनका प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।

एमालेले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरे पनि सहमति नजुटे मतदानमार्फत नेतृत्व चयन गर्ने तयारी गरेको छ। मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारीसमेत गरिएको छ, जसको परीक्षण शुक्रबार पार्टी कार्यालय च्यासलमा सम्पन्न भएको थियो।

महाधिवेशनबाट अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ। दुवै नेताले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहने बताइएको छ।

कतिपय नेताहरूले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताए पनि त्यो सम्भावना कमजोर बन्दै गएको एमाले नेताहरूको भनाइ छ। सहमति नभए दुवै पक्षले आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्। उद्घाटन सत्र सकिएलगत्तै ओली पक्षका नेताहरू अध्यक्ष ओलीको अस्थायी निवास गुण्डु पुगेका थिए भने पोखरेल पक्षका नेताहरू अलग्गै छलफलमा जुटेका छन्।

अध्यक्षसहित पदाधिकारीमा निर्वाचन हुने सम्भावना बढेसँगै उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदका लागि दुवै पक्ष प्यानल बनाउने गृहकार्यमा सक्रिय देखिएका छन्।

ओली पक्षबाट महासचिव पदमा हालका महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले आकाङ्क्षा देखाएका छन्। यता पोखरेल पक्षले ओली पक्षले अघि सार्ने उम्मेदवार हेरेर महासचिवको उम्मेदवार तय गर्ने जनाएको छ। पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जना महासचिवको उम्मेदवार बन्ने सम्भावना रहेको नेताहरू बताउँछन्।

पाण्डे महासचिव बनेमा विष्ट र भट्टराईलाई उपमहासचिव बनाउने तयारी रहेको पोखरेल पक्षको भनाइ छ। पदाधिकारी पदमा आकाङ्क्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ पछि मुलुकमा प्रतिगामी तत्त्वहरूले असंवैधानिक ढङ्गले सरकार गठन र प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए। मुलुकलाई निकास दिन संसद् पुनर्स्थापना उपयुक्त विकल्प भएको उनको भनाइ थियो।

उनले चुनावको जिम्मेवारी पाएको सरकारले संवादको सट्टा निषेध, घृणा र मिडिया ट्रायलमा केन्द्रित भएको आरोप लगाउँदै डर, दबाब र प्रतिशोधको वातावरणमा चुनाव सम्भव नहुने बताए। “डर र दबाबमुक्त चुनाव भए एमाले बहुमत ल्याउने क्षमता राख्छ, चुनावबाट एमाले भाग्छ भन्ने नसोचे हुन्छ,” ओलीले भने।

महाधिवेशनमा शुभकामना दिन उपस्थित नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, लोसपालगायत दलका नेताहरूले मुलुक सङ्कटपूर्ण अवस्थामा रहेकाले दलहरूबीच एकता र सहकार्य आवश्यक भएको धारणा राखे। कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि एमाले–कांग्रेस सहकार्य अपरिहार्य रहेको बताए।

माओवादी केन्द्रका नेता देव गुरुङले कम्युनिस्ट पार्टीहरूबीचको एकता र सहकार्यबाटै देशलाई निकास दिन सकिने बताए। यस्तै नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले महाधिवेशनले दलहरूले देश सम्हाल्न सक्छन् भन्ने सशक्त सन्देश दिएको टिप्पणी गरे।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका नेता सुरेन्द्र झालगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए।


सम्बन्धित समाचार