Logo

२८ मंसिर, काठमाडौं । अरनिको राजमार्गअन्तर्गत कोदारीस्थित इको पहिरो क्षेत्रमा स्थानीयवासीले मंसिर २० गतेदेखि लगाएको अवरोध शनिबार साँझदेखि हटेको छ ।

बाढी र पहिरोले बस्ती जोखिममा परेको भन्दै स्थानीयले ८ दिनसम्म राजमार्ग बन्द गराएका थिए । सडक विभागले राजमार्ग निर्माण र पहिरो नियन्त्रणको लागि टेन्डर निकाल्न ढिलाइ गरेपछि स्थानीयले सडक अवरोध गरेका हुन् । गत असोज २ गते नै कात्तिक महिनाभित्र टेन्डर निकाल्ने सहमति भए पनि एक महिना ढिला भएपछि आन्दोलन भएको थियो । शुक्रबार दिउँसो स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबीचको वार्ता असफल भएलगत्तै सडक डिभिजन कार्यालयले ४८ करोड ४९ लाख लागत बराबरको टेन्डर निकालेको हो ।

टेन्डरको सूचना प्रकाशित भएपछि शनिबार स्थानीय पालिका, स्थानीयवासी र ट्रान्सपोर्टका प्रतिनिधिबीच छलफल भएर स्थानीय आफैंले राजमार्ग खुलाएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत राईले जानकारी दिए । ‘वार्षिक २०औं अरब राजश्व संकलन हुने नाकालाई वेवास्ता किन? दशकौसम्म पहिरो नियन्त्रण किन गरिएन? जस्ता माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

पहिरोको उच्च जोखिममा रहेको गुम्बाडाँडा, मिलन बजार, लालबिर चोक, चौकीडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, र तामाङ गुम्बा गाउँको दिगो संरक्षणको माग उनीहरूको छ । सडक खुलेसँगै सीमा क्षेत्रमा रोकिएका कन्टेनर र इभी गाडीहरू भन्सार यार्डतर्फ लागेका छन् भने लामो समयको बन्दका कारण फलफूल लगायतका सामग्री कुहिएको व्यवसायीले बताएका छन् ।

यद्यपि, सडक डिभिजन कार्यालयले टेन्डर प्रक्रियाका लागि ३५ दिन र त्यसपछि मात्रै काम सुरु हुने बताएको छ । यसैबीच, स्थानीयले अबको ६० दिनभित्र सडक निर्माण कार्य सुरु नभए पुनस् इको पहिरोबाट सडक अवरुद्ध गर्ने चेतावनीसहित निर्णय गरेका छन् ।


सम्बन्धित समाचार