२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समय तालिका पुनः संशोधन गरिएको छ ।
बिहानै सुरु गर्ने तयारी गरिए पनि बन्दसत्रलाई पहिलो पटक सवा १२ बजे र त्यसपछि पुनःदिउँसो १ बजेका लागि सारिएको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
बन्दसत्रको कार्यक्रम सर्नुअघि अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । यो बैठक वर्तमान कार्यकालको अन्तिम बैठक हो । नेता महेश बस्नेतका अनुसार यस बैठकमा पार्टीको विधान संशोधन, मुलुकको समसामयिक राजनीतिक परिस्थिति तथा बन्दसत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुनेछ । बन्दसत्रको समय सरेपनि महाधिवेशनका प्रतिनिधिहरू भने बिहानैदेखि भृकुटीमण्डपमा भेला भइसकेका छन् र उनीहरू दस्तावेजहरू अध्ययन तथा प्रचारप्रसारमा लागिरहेका छन् ।















