२८ मंसिर,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी र पदाधिकारी दुवैको आकार बढाउने गरी विधान संशोधन प्रस्ताव अघि बढाउने भएका छन् ।
जारी केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष ओलीले यो प्रस्ताव पेश गर्न लागेको पार्टीका एक पदाधिकारीले जानकारी दिएका छन् । ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले हाल रहेको १५ सदस्यीय पदाधिकारीको संख्या बढाएर १९ सदस्यीय बनाउने र २५१ सदस्यीय केन्द्रीय कमिटीको आकार विस्तार गरी ३०१ सदस्य पुर्याउने प्रस्ताव लैजान लागेका हुन् ।
पार्टीभित्र आकांक्षीहरूको संख्या बढ्दै गएपछि ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न सहज होस् भनेर संख्या बढाउने बाटो रोजेको बुझिएको छ । यद्यपि, गत बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव असफल भएको थियो । त्यतिबेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले उमेर हद र दुई कार्यकालको सीमासमेत विधानमा राख्नुपर्ने अडान लिएपछि ओलीको प्रस्ताव सचिवालयबाट पारित हुन सकेन ।
सचिवालयबाट प्रस्ताव पारित नभएपछि अध्यक्ष ओलीले अब केन्द्रीय कमिटीबाट विधान संशोधन प्रस्ताव पारित गराउन लागेका हुन् । केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको पक्षमा दुई तिहाइभन्दा बढी सदस्य भएकाले सो प्रस्ताव पारित हुने सम्भावना प्रबल रहेको बताइएको छ ।















