Logo

१८ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज आइतबार नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो, जुन आज तोडिएको छ । यसरी अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा ठूलो उछाल आएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलरको रेकर्ड तोडिएको छैन, हाल अन्तर्राष्ट्रिय भाउ ४ हजार ३०० अमेरिकी डलर हाराहारीमा छ । तर, नेपालमा अमेरिकी डलरको मूल्यवृद्धिले गर्दा अन्तर्राष्ट्रिय बजारको रेकर्ड नतोडिए पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ लिएको हो ।

अर्कोतर्फ, चाँदीको भाउ भने उच्चतम रेकर्डबाट ओर्लिएको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ८० रुपैयाँ घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।


सम्बन्धित समाचार