२८ मंसिर, काठमाडौं । मलेसियाको अध्यागमन विभागले जोहोर राज्यमा चलाएको विशेष अभियानका क्रममा ४९ जना कागजातविहीन विदेशी श्रमिकहरूलाई पक्राउ गरेको छ ।
जोहोरस्थित टामन जोहोर जया क्षेत्रमा रहेका १६ वटा सटर र आवासीय घरहरूमा शनिबार ‘अप्स सापु’ नामक आकस्मिक अभियान चलाइएको थियो । अध्यागमन निर्देशक दातुक मोहद रुस्दी मोहद दारुसका अनुसार पक्राउ परेका श्रमिकहरूको उमेर २० देखि ४९ वर्षबीच रहेको छ । विभागका अनुसार नियन्त्रणमा लिइएका सबै व्यक्तिहरूसँग मलेसियामा बस्ने कुनै वैध यात्रा कागजात नभएको र उनीहरूले तोकिएको बसोबास अवधि पनि नाघाइसकेको पाइएको छ ।
छापा मार्ने क्रममा केही व्यक्तिहरू भागेर छतमा लुक्ने प्रयास गरे पनि अध्यागमन प्रहरीले सबैलाई सफलतापूर्वक नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सेटिया ट्रोपिका अध्यागमन थुनुवा केन्द्रमा राखिएको छ र उनीहरूमाथि आप्रवासन ऐन १९५९÷६३ उल्लंघन गरेको आशंकामा अनुसन्धान भइरहेको छ ।
जोहोर अध्यागमन विभागले राज्यलाई पूर्ण रूपमा कागजातविहीन आप्रवासीमुक्त बनाउने उद्देश्यका साथ यस्ता कारबाहीहरू निरन्तर जारी राख्ने जनाएको छ ।















