२८ मंसिर, काठमाडौं । नेकपा एमालेका दुई जना उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनमा आफूहरू कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै दुवै नेताले सक्रिय राजनीतिबाट विश्राम लिने संकेत गरेका हुन् । उपाध्यक्ष ज्ञवालीले आफू ७० वर्ष पुगेको कारण देखाउँदै अब उप्रान्त पार्टीको कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरे । उनी पार्टीको विधानमा ७० वर्षे उमेर हद कायम हुनुपर्ने पक्षमा दृढतापूर्वक उभिँदै आएका छन्, यद्यपि उनले आफू एमालेमै सक्रिय रहने स्पष्ट पारेका छन् ।
त्यसैगरी उपाध्यक्ष शाक्यले पनि आफू चुनावमा नउठ्ने बताउँदै, ‘मलाई भोट हाल्नु पर्दैन, भनिन् । उनले पार्टीभित्र विधि र विधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नेताहरूलाई फराकिलो मन बनाउन आग्रह गरिन् । शाक्यले पार्टीमा ‘आफू नभई पार्टी चल्दैन’ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने धारणा राख्दै आम जनताको चाहनालाई ख्याल गरेर अहिले विधान संशोधन गर्नेतर्फ नलाग्न नेतृत्वलाई सुझाएकी छिन् ।
यसरी एमालेका दुई वरिष्ठ उपाध्यक्षले महाधिवेशनबाट चुनावमा नउठ्ने घोषणा गर्नुलाई पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने दिशातर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओली भने कुनै पनि हालतमा आफुनै दोहोरिने खेलमा छन् ।















