२८ मंसिर, काठमाडौं । नेकपा एमालेले विरोधका बाबजुद गत भदौमा सम्पन्न विधान महाधिवेशनले गरेका केही प्रमुख निर्णयहरूलाई उल्ट्याउँदै पार्टीको पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको छ ।
विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा सीमित गर्ने र स्थायी कमिटी नै नराख्ने निर्णय गरे तापनि आइतबारको केन्द्रीय कमिटी बैठकले त्यसलाई संशोधन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार, अब पार्टीको पदाधिकारी संख्या १९ सदस्यीय बनाइएको छ, जसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहनेछन् ।
यसैगरी, केन्द्रीय कमिटीको आकार २५१ सदस्यीयबाट बढाएर ३०१ सदस्यीय बनाइएको छ, जुन एमालेको पुरानै संरचना थियो । साथै, विधान महाधिवेशनले नराख्ने निर्णय गरेको ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो लाई पनि ब्युँताइएको छ ।
यसरी ठूलो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुङ्गो लगाएको विषयलाई फेरि संशोधन गर्न खोजिएको भन्दै बैठकमा केही नेताहरूले विरोध जनाएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो निर्णयमाथि प्रश्न उठाउँदै भने, ‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन । बदलिएको परिस्थितिले त हामीलाई बदलिऔँ भनेर जबरजस्त सन्देश दिएको छ । के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जचिएन ? उनले दुई कार्यकालको सीमाबारे पनि छलफल हुनुपर्ने भन्दै विधान संशोधनको औचित्यमाथि प्रश्न उठाएका थिए ।















