२८ मंसिर, काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनको संघारमा विधान संशोधन गर्दै पार्टीभित्रको ‘वरिष्ठ उपाध्यक्ष’ पद खारेज गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको दशौँ महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले यो निर्णय लिएको हो । यसअघि भदौमा गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो भने दुई दिनअघिको सचिवालय बैठकले समेत विधान संशोधन नगर्ने निर्णय गरेको थियो । तर, अन्तिम समयमा केन्द्रीय कमिटी बैठकले ती निर्णयहरूलाई उल्ट्याउँदै पदाधिकारी संख्या १९ जनाको बनाउने गरी विधान संशोधन गरेको हो ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अब अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, र सचिव ९ जना गरी कुल १९ सदस्यीय पदाधिकारी रहने प्रस्ताव बन्दसत्रमा पेस गरिनेछ । यसैगरी, केन्द्रीय कमिटीको आकार पनि २५१ बाट बढाएर ३०१ सदस्यीय बनाइएको छ । पोलिटब्युरो ९९ सदस्यीय हुने र पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटीमा रहने गरी नयाँ संरचना तयार पारिएको उनले जानकारी दिए ।















